डा. सुरेन्द्र कुमार झा

मधेसकाे मुद्दा अब बालेनकाे काँधमा – भिडियाे


4 minutes

हालै सम्पन्न फागुन २१ को निर्वाचन परिणामले नेपालको राजनीतिमा ठूलो उथलपुथल ल्याएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुई तिहाइ नजिक पुग्दा, परम्परागत ठूला दलहरू र मधेश केन्द्रित क्षेत्रीय दलहरूले अप्रत्याशित पराजय भोगेका छन्। के यो निर्वाचनले क्षेत्रीय, जातीय र सीमान्तकृतका एजेन्डाहरूलाई किनारा लगाएको हो? पुराना दलहरू कहाँ चुके? यिनै समसामयिक विषयमा AP1 HD को ‘AP TALK TIME’ मा डा. सुरेन्द्र झाले गर्नुभएको सटिक र गहिरो विश्लेषण यहाँ प्रश्नोत्तर (Q&A) ढाँचामा प्रस्तुत गरिएको छ:


प्रश्न: यो निर्वाचनले रास्वपालाई दुई तिहाइ नजिक पुर्‍याएको छ भने पुराना र मधेश केन्द्रित दलहरूको लज्जास्पद हार भएको छ। के अब भाषिक, जातीय र क्षेत्रीय मुद्दाहरू किनारा लागेका हुन् त?

डा. सुरेन्द्र झा: मलाई त्यस्तो बिल्कुलै लाग्दैन। नागरिकले समानुपातिक समावेशिता, राज्य पुनर्संरचना, अग्रगमन र विभेद अन्त्यका मुद्दाहरूलाई किनारा लगाएका होइनन्; बरु पुराना पार्टीहरूले सुशासन दिन नसकेपछि ती सम्पूर्ण एजेन्डा पूरा गर्ने अभिभारा अब रास्वपा र त्यसको नेतृत्वको काँधमा सुम्पिएका हुन्। यदि उहाँहरूले यी मुद्दाहरूलाई न्यायसंगत ढंगले सम्बोधन गर्न सक्नुभएन भने, यो जनमत अल्पकालीन हुन्छ र फेरि अर्कोतर्फ सिफ्ट हुनेछ।

प्रश्न: त्यसो भए हिजो उठाइएका मधेशका एजेन्डाहरू केवल राजनीतिक स्वार्थका लागि मात्र थिए, नागरिकले त सुशासन र डेलिभरी मात्र खोजेका रहेछन् भन्ने प्रमाणित भएन र?

डा. सुरेन्द्र झा: पहिलो कुरा, यी एजेन्डाहरू २००७ सालदेखि नै उठेका हुन्। पुराना दलहरूले थुप्रै संघर्ष र आन्दोलनबाट संघीय लोकतान्त्रिक गणतन्त्र र बहुदलीय व्यवस्थाको ‘प्लेटफर्म’ निर्माण गर्ने काम गरे। तर, विश्वव्यापीकरण र सूचना प्रविधिको विकाससँगै नागरिकका अपेक्षाहरू अत्यधिक बढे। बितेका ३० वर्षमा दलहरूले जनअपेक्षा अनुसार डेलिभरी दिन सकेनन्। पार्टीका ‘दलपति’हरू महाभारतका भीष्म पितामह जस्तै आफ्नो परिवार, नातागोता र कुटुम्बको भविष्य सुरक्षित गर्नमै सीमित भए। ठूला क्रान्ति गर्नेहरू पनि परिवारवादमा फसे, जसले गर्दा बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीमै प्रहार भयो र नागरिकमा आक्रोश पैदा भयो।

प्रश्न: चुनावको सम्मुखमा मधेश केन्द्रित दलहरू एक ठाउँमा उभिँदा पनि किन यस्तो पराजय भोग्नुपर्‍यो? तपाईंहरू कहाँ चुक्नुभयो?

डा. सुरेन्द्र झा: हामीले मुख्यगरी दुई-तीन ठाउँमा चुकेको महसुस गरेका छौँ। हामी चुनाव लड्दा ठूला पार्टीहरूसँग कडा प्रतिस्पर्धा गर्थ्यौँ, तर चुनाव सकिएपछि केन्द्रमा गएर तिनै दलहरूसँग सत्ता सहकार्य गर्थ्यौँ। राजनीतिमा सत्ता सहकार्य गर्नु नराम्रो होइन, तर हामीले आफ्ना एजेन्डा र मुद्दाहरूलाई सरकारमार्फत संस्थागत गर्न सकेनौँ। यसले गर्दा आफ्नै कार्यकर्ता र युवा जमातमा हामीले ‘हामी फरक हौँ’ भन्ने विश्वास दिलाउन सकेनौँ।

प्रश्न: के अब तपाईंहरूले उठाएका एजेन्डाहरू यो निर्वाचनपछि मेटिए त?

डा. सुरेन्द्र झा: बिल्कुलै मेटिएका छैनन्। ऐतिहासिक आन्दोलनको नेतृत्व गर्ने नेपाली कांग्रेस र नेकपा एमाले जस्ता पार्टीहरू पनि आज खुम्चिएका छन्। यसको अर्थ उहाँहरू वा हाम्रो एजेन्डा र योगदान सकिएको होइन। एउटा हावाहुरी आयो र ‘पुराना जति सबै खत्तम, नयाँलाई ल्याउनुपर्छ’ भन्ने भाष्य निर्माण भयो; अनि एउटै घानमा हामीलाई पनि हालियो। तर, ३३% महिला सहभागिता, आरक्षण र संघीयता जस्ता युगान्तकारी उपलब्धिहरू हाम्रै अनवरत संघर्षका परिणाम हुन् भन्ने नागरिकलाई थाहा छ।

प्रश्न: के नयाँ पुस्ता (Gen-Z) को भावना बुझ्न नसक्दा यो अवस्था आएको हो? रास्वपालाई नागरिकले किन यति धेरै अन्धभक्त भएर समर्थन गरे?

डा. सुरेन्द्र झा: यसपटकको चुनावमा मिडिया र ‘अल्गोरिदम’ (Algorithm) को चरम प्रयोग भयो। अनौपचारिक क्षेत्रबाट मिडिया र सामाजिक सञ्जालमा ठूलो लगानी भयो र ‘घण्टीलाई नै भोट दिनुपर्छ’ भन्ने न्यारेटिभ जबर्जस्ती स्थापित गरियो। विदेशमा रहेका नेपालीहरूले समेत आफ्ना आमाबुवा र परिवारलाई घण्टीमै भोट हाल्न निरन्तर दबाब दिए। धेरै मतदातालाई त आफ्नो क्षेत्रको उम्मेदवार को हो भन्ने समेत थाहा थिएन, तर ‘नयाँलाई दिनुपर्छ’ भन्ने हावाहुरीले मात्रै काम गर्‍यो।

प्रश्न: मधेशबाट पनि रास्वपा र बालेन्द्र शाह (बालेन) लाई ठूलो मत गयो, यसलाई कसरी हेर्ने? यो रास्वपाले पाएको मत हो कि बालेनले?

डा. सुरेन्द्र झा: स्पष्ट भन्नुपर्दा, यो रास्वपाले पाएको मत होइन, बालेन र घण्टीले पाएको मत हो। बालेनजीलाई प्रधानमन्त्रीको रूपमा अगाडि सारिएपछि मधेशमा ‘हाम्रै मूलको मान्छे प्रधानमन्त्री बन्दैछ’ भन्ने सेन्टिमेन्ट (भावना) ले ठूलो काम गर्‍यो। “अबकी बार बालेन सरकार” भन्ने भाष्यले तराई-मधेशमा गहिरो प्रभाव पार्‍यो। रास्वपाका अधिकांश उम्मेदवारहरू पुराना दलकै विवादित अनुहार भए पनि नागरिकले त्यसलाई वास्ता गरेनन्, उनीहरूले केवल बालेनलाई हेरे।

प्रश्न: पुराना दलहरूमा जस्तै मधेश केन्द्रित दलहरूमा पनि अब नेतृत्व परिवर्तनको बहस उठ्छ कि उठ्दैन?

डा. सुरेन्द्र झा: नेतृत्व परिवर्तन र रूपान्तरण निरन्तर चल्ने प्रक्रिया हो। तर, चुनाव हार्ने बित्तिकै नेतृत्वले राजीनामा दिँदैमा सबै समस्याको समाधान हुँदैन। हाम्रो पार्टी (जसपा नेपाल) मा महाधिवेशनबाट सर्वसम्मत रूपमा नेतृत्व चयन भएको हो। जहाँसम्म अहिलेको जनादेशको कुरा छ, रास्वपा र बालेनजीमाथि ठूलो अपेक्षा छ। यदि उहाँहरूले संविधान संशोधन गर्दै संघीयता र अग्रगमनको बाटो समात्नुभयो भने हामी उहाँहरूलाई साथ दिन्छौँ, तर प्रतिगमनतिर जानुभयो भने हामी कडा खबरदारी गर्छौँ।

प्रश्न: अन्त्यमा, अब तपाईंहरू र तपाईंहरूको राजनीतिक भविष्य के हुन्छ त?

डा. सुरेन्द्र झा: हामीले एउटा निर्वाचन पो हारेको हो त ! हामीले आफ्नो एजेन्डा हारेका छैनौँ, हाम्रो संगठन छ, दर्शन छ, आत्मबल छ र समाजमा गरेको ऐतिहासिक योगदान जीवितै छ। राजनीतिमा हाम्रा पैताला, बुद्धि र विवेकले हार खाएका छैनन्। जनतासँगको हाम्रो संवाद टुट्ने छैन। हामी हाम्रो घर (पार्टी/संगठन) फेरि बलियो बनाएर निर्माण गरिहाल्छौँ नि !


Leave a Reply

Your email address will not be published. Required fields are marked *