डा. सुरेन्द्र कुमार झा

प्रतिनिधि सभा निर्वाचन समीक्षा: पुराना दलप्रतिको वितृष्णा र जसपाको आगामी बाटो (डा. सुरेन्द्र झासँगको विशेष अन्तर्वार्ता)


4 minutes

हालै रेडियो कान्तिपुरको लोकप्रिय कार्यक्रम ‘द हेडलाइनर्स’ मा सञ्चारकर्मी अनिल बोगटीसँग कुरा गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता डा. सुरेन्द्र कुमार झाले प्रतिनिधि सभा निर्वाचनको नतिजा, पुराना राजनीतिक दलहरूप्रतिको जनआक्रोश, नयाँ दलहरूको उदय र जसपाको आगामी रणनीतिबारे विस्तृत र तथ्यपरक विश्लेषण गर्नुभएको छ।

उक्त अन्तर्वार्ताको पूर्ण सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ:

प्रश्न: प्रतिनिधि सभा निर्वाचनमा यत्तिको हार हुन्छ भनेर तपाईँहरूले कहिल्यै सोच्नुभएको थियो?

डा. सुरेन्द्र झा: पहिलो कुरा त, अन्त्यहीन अनिश्चिततालाई चिर्दै हामीले निर्वाचन गर्न सफल भयौँ, यसको लागि सरकार र निर्वाचन आयोगलाई धन्यवाद दिन चाहन्छु। परिणामको कुरा गर्दा, यसपालि समाजमा एउटा भाष्य निर्माण गरियो— “पुराना काम नलाग्ने भए, नयाँलाई दिनुपर्छ।” यसको प्रभाव तराई मधेशमा पनि पर्‍यो।

यसपटक नागरिकहरूले उम्मेदवार को हो? पार्टीको दर्शन र सिद्धान्त के हो? विगतको योगदान के छ? भनेर मूल्याङ्कन गर्नुभन्दा पनि “नयाँलाई एकपटक हेरौँ” भन्ने भाष्यको आधारमा मतदान गर्नुभयो। यद्यपि, मतकै कुरा गर्दा अन्य परम्परागत दलहरूसँग तुलनात्मक रूपले हेर्दा हामी प्रतिस्पर्धाकै भूमिकामा छौँ, तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जस्ता नयाँ दलहरूको उदयले परिणाममा फरक पारेको पक्कै हो।

प्रश्न: नयाँ दलप्रतिको आकर्षण बढी हो कि पुराना दलहरूप्रतिको वितृष्णा? मधेशको हकमा पनि त्यस्तै हो?

डा. सुरेन्द्र झा: मलाई लागेको विषय के हो भने, यो नयाँ प्रतिको आकर्षण भन्दा पनि पुराना पार्टीहरूमा देखिएको विकृति, विसंगति र संसदमा देखिएको सिन्डिकेट प्रणालीप्रतिको नागरिकको आक्रोश र निराशा हो। मिडियाले पनि यो कुरालाई जनजनमा पुर्‍याउन भूमिका खेल्यो।

यसपटक इतिहासमै सबैभन्दा कम मतदान भयो। यसले नागरिकमा भएको निराशा र अन्योलता देखाउँछ। मुलुक कता जाँदैछ भन्ने अन्योलताबीच “पुरानाहरू काम नलाग्ने” भन्ने भाष्यले सबै पुराना दलहरूलाई एउटै बास्केटमा राखिदियो र नागरिकले त्यही अनुसार अभिमत जाहेर गर्नुभयो।

प्रश्न: मतदाताले जुन मत व्यक्त गर्नुभएको छ, के अब मधेश केन्द्रित दलहरू अस्तित्व रक्षाको डिलमा पुगिसकेका हुन् भनेर बुझ्दा हुन्छ?

डा. सुरेन्द्र झा: यसलाई निर्मम रूपले विश्लेषण गर्नुपर्छ। तर, सवाल हाम्रो मात्रै होइन। कांग्रेस, एमाले र जनयुद्धको अगुवाइ गरेको माओवादी केन्द्रको अवस्था हेर्दा पनि सबैको अस्तित्व रक्षाको लागि संघर्ष गर्नुपर्ने स्थिति आएको छ।

तर यसलाई यसरी बुझ्न हुँदैन कि एउटा निर्वाचनको परिणामले कुनै पार्टी सकिन्छ। हाम्रो एजेन्डा जीवित छ। हामीले निर्वाचन पो हारेको हो त, आफ्नो एजेन्डा हारेका छैनौँ। हामीसँग संगठन छ, दर्शन छ, विगतको योगदान छ। अर्कोतर्फ, रास्वपाले बालेनजी (मधेशी मूलका व्यक्ति) लाई प्रधानमन्त्रीको रूपमा अगाडि सार्दा मधेशमा “यसपालि उहाँलाई प्रधानमन्त्री बनाउन सहयोग गर्नुपर्छ” भन्ने मनोविज्ञान पनि देखियो। निर्वाचनमा पराजय भोग्नु स्वाभाविक प्रक्रिया हो, हामी हाम्रा त्रुटिहरूको समीक्षा गरेर अगाडि बढ्नेछौँ।

प्रश्न: पार्टीभित्र समीक्षाको पाटोमा नेतृत्व हस्तान्तरणको बहस हुन सक्छ या सक्दैन?

डा. सुरेन्द्र झा: एउटा निर्वाचनमा पराजय भोग्दैमा नेतृत्व हस्तान्तरण गरिहाल्नुपर्छ भन्ने कुरा पार्टीको विधानले भन्दैन, यो व्यक्तिगत नैतिकताको विषय हुन सक्छ। मेरो पार्टीमा नेतृत्वको द्वन्द्व छैन।

अहिले देशमा जुन हावाहुरी मच्चिएको छ, पुरानालाई जेलमा हाल्ने जस्ता अफवाहहरू फैलाइएका छन्। अप्रत्याशित रूपमा मिडिया र टेक्नोलोजीको ‘वार’ (War) मा ठूलो लगानी भएको छ, जसलाई पुराना दलहरूले सोच्दै सोचेनन्। यदि राजीनामा दिएर वा नेतृत्व परिवर्तन गरेर मात्रै यी चुनौतीहरूको सामना गर्न सकिने र परिणाम परिवर्तन हुने भए त्यो गर्न सकिन्थ्यो। हाम्रा अध्यक्ष उपेन्द्र यादवजी महाधिवेशनबाट निर्वाचित, संघर्षबाट बनेको र कुशलता भएको नेतृत्व हुनुहुन्छ। जहाँसम्म युवाहरूको सवाल छ, यदि युवा साथीहरूलाई थप जिम्मेवारी दिएर अगाडि बढाउन सकिन्छ भने त्यो कोणबाट पार्टीमा पक्कै बहस र छलफल हुनेछ।

प्रश्न (श्रोता केशव तिमल्सिना, रौतहट): दशतिर फर्किएका मधेशवादी दलहरू एउटै शक्ति बनेर एकै ठाउँमा आउने सम्भावना देख्नुहुन्छ कि देख्नुहुन्न?

डा. सुरेन्द्र झा: बिल्कुल देख्दछु। विगत एक वर्षदेखि म यसैमा लागिरहेको छु। हामी एक हुनैपर्छ। अनुभवी र सिनियर नेताहरू सल्लाहकार समितिमा बस्नुपर्छ, उहाँहरूले अनुभव साट्नुपर्छ र नेतृत्व नयाँ साथीहरूले लिनुपर्छ। बलियो नेतृत्वका साथ हामी अगाडि बढ्नुपर्छ, एकाकार हुने सम्भावना यथेष्ट छ।

प्रश्न (श्रोता दिनेश बराल, महोत्तरी): सधैँ पद, सधैँ सत्ता खोज्दा त्यसैको प्रतिफल अहिले मधेशवादी दलहरूले भोगेका हुन् भन्न मिल्छ?

डा. सुरेन्द्र झा: यो कुरामा म आंशिक सत्यता देख्छु। तर ‘इन्फेरियारिटी कम्प्लेक्स’ (हीनताभाष) लिनु हुँदैन। राजनीतिक दल भनेकै सत्ता प्राप्तिको लागि हो, ताकि सत्तामा गएर जनआकांक्षा अनुरूप काम गर्न सकियोस्।

हामीले प्रदेश सरकारमा गएर थुप्रै राम्रा काम गरेका छौँ— आरक्षण, तीनवटा विश्वविद्यालयको स्थापना, सडक निर्माण, दलित-महिला उत्थान जस्ता कामहरू। तर ती कुराहरू हामीले जनतामाझ पुर्‍याउन सकेनौँ। अर्कोतर्फ, राष्ट्रिय राजनीतिमा सरकारमा जाँदा पनि काम गर्ने अवसर पाइन्छ। भोलि नयाँ दलहरूले पनि सरकारमा गएर मन्त्री, प्रधानमन्त्री वा सभामुख त पक्कै लिनेछन् नि, होइन र? तर, दर्शन र एजेन्डालाई भुलेर पदकै लागि मात्र सरकारमा जानु दुःखद हो, त्यसमा सुधार हुनुपर्छ भन्ने उहाँको कुरासँग म सहमत छु।


Leave a Reply

Your email address will not be published. Required fields are marked *